हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष लामा पक्राउ

काठमाडौँ, १ पुस । श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको पार्टीको उपाध्यक्ष विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का एआईजी मनोज केसीले जानकारी दिए।

२०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका लामा अहिले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका हुन् । पाँचथरमा दर्ता भएको मुद्दामा उनी फरार देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

२०६९ असारमा पाँचथरको भुसपातेमा उनलाई प्रहरीले विस्फोटक पदार्थ सहित पक्राउ गरेर काठमाडौँ पठाएको थियो ।

बबरमहलमा ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटको घटनामा त्यसबेला फरार रहेका लामालाई प्रहरीले अनुसन्धान गरेर अभियोजन गरेको थियो ।

बबरमहल घटनामा कैद सजायको फैसला भएपछि नख्खु कारागारमा सजाय भुक्तान गरेर लामा २०७६ फागुन ७ मा प्रजातन्त्र दिवसको दिन छुटेका थिए ।

उनी विरुद्ध पाँचथरमा दर्ता भएको मुद्दा विचाराधीन अवस्थामा रहेको भेटिएको छ । उनलाई सीआईबीले थप अनुसन्धानको लागि पाँचथर पठाएको छ । यसको लागि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्