तीन सह-सचिव बढुवाका लागि सिफारिस
काठमाडौं, २२ मंसिर । सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।
समितिले सहसचिवहरू राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाले जानकारी दिएको छ । सहसचिव पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताको रूपमा कार्यरत छन् ।
भट्टराई वैदेशिक रोजगार विभागमा महानिर्देशकको रूपमा कार्यरत छन् भने घिमिरे भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्। अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । वरिष्ठताका आधारमा सचिव बढुवा हुने भएकाले पौडेलको सम्भावना प्रबल रहेको स्रोतले जानकारी दियो ।
मङ्सिर ९ गते राति राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी र मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा गएका थिए । उनीहरू अवकाशमा गएपछि मन्त्रिपरिषद् बैठकले वैकुण्ठप्रसाद अर्याललाई सचिवमा बढुवा गरेको थियो । रक्षा सचिव सुमनराज अर्याल मुख्य सचिवमा बढुवा भएका थिए ।
त्यसपछि रिक्त सचिवमा तीन जना मध्यबाट एक जनालाई बढुवा गर्न सिफारिस गरिएको हो ।















प्रतिक्रिया दिनुहोस्