एमाले महाधिवेशन प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेन, बसोबासको लागि नेताको शरणमा

काठमाडौं, २२ मंसिर । नेपाल एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था आयोजक कमिटिले गरेको छैन।
यसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन। तर प्रतिनिधिलाई काठमाडौंमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएको कमिटीका सचिव आरसी लामिछानेले जानकारी दिए ।

उनले भने, ‘अहिले हामीले प्रदेशगत रूपमा काठमाडौंमा बस्न समस्या हुने प्रतिनिधिको विवरण संकलन गरिरहेका छौं।’
सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भए पनि बासको प्रबन्ध गरेको जनाएको छ। कमिटीका सचिव लामिछानेले टाढाबाट आउने प्रतिनिधिलाई बस्न र खानाका समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको बताए।


महाधिवेशनमा करिव दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन्। यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि तीन हजार र दुई हजार मात्र तोकेको छ। महाधिवेशनका आयोजक प्रतिनिधिलाई तीन हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिलाई दुई हजार रुपियाँ शुल्क तोकेको हो।

एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ। उद्घाटन भक्तपरको सल्लाघारी र निर्वाचन काठमाडौंंको भृकुटिमण्डपमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्