मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं, २१ मंसिर। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ ग्रहण गराएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् ।
कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेस दलका नेता यादवको जिम्मेवारीमा आएको हो ।
गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।
उनले प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरेपछि कांग्रेस दलका नेता यादवलाई गठबन्धनका दलहरुले मुख्यमन्त्रीको रुपमा चयन गरेका थिए । उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्दैछन् । यो सँगै मधेश प्रदेशमा सरकारको गठनको निकास पाएका छन् ।















प्रतिक्रिया दिनुहोस्