हेटौंडामा सडक विस्तारका क्रममा विस्थापित भएकाका परिवारलाई आवासका लागि सहजीकरण गर्ने
काठमाडौं, २१ मंसिर। हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा विस्थापित भएकाका परिवारलाई हेटौंडा उपमहानगरपालिकाले आवास व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ ।
उपमहानगरपालिका कार्यालयको आज आइतबार बिहान बसेको ७६औं कार्यपालिका बैठकले प्रभावित परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण र समन्वय गर्ने निर्णय गरेको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानबाट पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक सीमाको केन्द्ररेखादेखि २५र२५ गज ९७५र७५ फिट० भित्र यसअघि नै रेखांकन गरिएका घरटहरा र संरचनाहरु भत्काएको छ । कार्यालयले करिब ५०० घरटहरा तथा संरचनाको सटर, झ्यालढोका तथा भवनका भित्ता क्षतविक्षत बनाएको छ ।
मुख्य बजार क्षेत्रका घरटहरा र संरचनाहरु भग्नावशेष बनेपछि उपमहानगरपालिकाले कार्यपालिका बैठकमार्फत विशेष निर्णयहरु गरेको १ नम्बर वडाका वडाध्यक्षसमेत रहेका उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
‘सडक विस्तारबाट प्रभावित भई जग्गाको अंश नरहने तथा अन्यत्र घरजग्गा नभएका घरधनीहरुको वडा कार्यालय मार्फत विवरण संकलन गरी मालपोत कार्यालयबाट विवरण जाँच गराई घरवारविहीनलाई आयोजनामार्फत आवास व्यवस्थापन गर्न उपमहानगरपालिकाले सहजीकरण र समन्वय गर्ने निर्णय गरेको छ,’ न्यौपानेले भने ।
प्रभावित घरधनीहरुको घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण व्याजदरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालय मार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।
प्रभावितहरुको भवन निर्माणका लागि सहजता कायम गर्न ‘फाष्ट ट्रयाक’ प्रक्रियाबाट प्राविधिक सहयोग सहित नक्सापास लगायतका सेवाहरु प्रवाह गरिने भएको छ ।
सडक विस्तारका क्रममा प्रभावित भई व्यवसायको निरन्तरता हुन नसकेका व्यवसायीको लगत लिएर व्यवसाय सुरु नहुँदासम्म व्यवसाय कर छुट दिनका लागि नगर सभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताए ।
बजार क्षेत्र भएर जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गको रुपमा सञ्चालन गर्न नगर सभा मार्फत संघीय सरकारलाई अनुरोध गर्ने निर्णय उपमहानगरपालिकाले गरेको छ ।
प्रभावित क्षेत्रमा हेटौंडाको पहिचान झल्किने गरी नमूना र सौन्दर्यता कायम गर्न उपयुक्त घर निर्माण मोडल तयार गरी कार्यान्वयन समेत गरिने प्रवक्ता न्यौपानेले बताएका छन् ।
यसैगरी, प्रभावितहरुको भवन निर्माणमा नक्सापास गर्न लाग्ने दस्तुरको २०२० वर्गफिट सम्मको नक्सा पास दस्तुर छुट दिन नगर सभा समक्ष पेश गर्ने र घर निर्माणका लागि सामग्रीहरु सुलभ रुपमा उपलब्ध गराउन सहजीकरण गर्ने निर्णय पनि उपमहानगरले गरेको छ ।
महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको ८ दशमलव ५ किलोमिटर सडक विस्तार हुँदैछ ।
सडक डिभिजनले ५ सय ३१ वटा निर्मित घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने जनाएको छ । सडकको केन्द्रबिन्दुबाट २५र२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।















प्रतिक्रिया दिनुहोस्