अन्ततः कांग्रेसको आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णय, मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता
काठमाडौ, १५ मंसिर । लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेसको सिंगो कार्यसमिति आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णयमा पुगेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएसँगै विवादकोे गाँठो फुकेको हो ।
२३ र २४ भदौको जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसभित्र २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै नियमित महाधिवेशनको माग जोडसँग उठेको थियो ।
पार्टीको संस्थापन पक्ष त्यसमा सहमत नदेखिएपछि संस्थापनइतर पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको थियो । १४औं महाधिवेशनका झन्डै ५५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको निवेदन असोज २८ मा केन्द्रीय कार्यालयमा दर्ता भएको थियो ।
त्यसपछि पार्टी विशेष कि नियमित महाधिवेशन भन्ने विवादलाई लिएर दुई कित्तामा बाँडिएको थियो । संस्थापनपक्षमा रहेका पूर्वपदाधिकारीहरूले फागुनको निर्वाचनअघि महाधिवेशन सम्भव नै नरहेको भन्दै आगामी वैशाखमा गर्नुपर्ने विकल्पसहित तत्काल नियमित र विशेष दुवै प्रस्ताव खारेज गरिरहेका थिए ।
कांग्रेस विधानमा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नु पर्ने व्यवस्था छ । त्यसकारण आगामी पुसको २८ गतेभित्र जसरी पनि विशेष महाधिवेशन गर्नैपर्ने दबाब कांग्रेसमा थियो ।
तर, विशेषमा जाँदा पार्टी विभाजन हुने जोखिम रहेको भन्दै कार्यबाहक सभापति खड्कालगायतले सहमतिको निरन्तर प्रयास गरिरहेका थिए । उपचार सकेर सिंगापुरबाट फर्किएपछि सभापति देउवाले नै असन्तुष्ट नेताहरूलाई बोलाएर पटकपटक छलफल गरी पुस अन्तिममा नियमित महाधिवेशनका लागि मनाएका हुन् ।
यस्तो छ महाधिवेशन कार्यतालिका;
- मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता केन्द्रबाटै फारम वितरण गरिसक्ने।
- सबै निर्वाचन क्षेत्रमा पुस ८ गतेभित्र नयाँ क्रियाशील वितरणको काम गरिसक्ने।
- क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची कार्यवाहक सभापति र सभापतिलाई बुझाउने मिति पुस १४ गते।
- विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ भित्र गरिसक्नुपर्ने।
- गाउँ/नगर वडा अधिवेशन पुस १६ गते हुने।
- गाउँपालिका र नगरपालिका अधिवेशन पुस १७ गते।
- प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते।
- प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २१ गते (एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा)
- प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २२ गते (एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा)
- प्रदेश अधिवेशन पुस २३ र २४ गते।
- केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ गतेसम्म, काठमाडौंमा।















प्रतिक्रिया दिनुहोस्