आज रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा सभा हुँदै, विवेकशील साझाको पार्टी नै विलय
काठमाडौं, १४ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकीकरण हुँदैछ । उनीहरूबीच लोकतान्त्रिक चरित्रको शक्ति बन्ने योजना अनुसार आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुँदैछ ।
१३ वर्षअघि सुशासनको अभियानबाट सुरु भई दल बनेको विवेकशील साझा र ४० महिना अघि जन्मिएको रास्वपाबिच आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुने भएको हो ।
२०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । २०७० सालमा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा सुरु गरेको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।
हाल विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना छन् । रास्वपा सभापति रवि लामिछाने छन् । उनी सहकारी ठगी प्रकरणको अभियोगमा जेलमा रहेकाले हाल डीपी अर्यालले पार्टी कावा. भई काम गरेको छन् ।
पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व रास्वपाकै रहने गरी विवेकशील साझाले निःशर्त स्वीकार गरेको छ ।
राष्ट्रिय सभामा गृहमा हुने एकता घोषणा सभालाई रास्वपा र विवेकशील साझा पार्टीका उच्चपदस्थ नेताहरुले सम्बोधन गर्नेछन् । सोही कार्यक्रममा विवेकशील साझाले आफ्नो विपत् कोषमा रहेको ३३ लाख रुपैयाँ हस्तान्तरण गर्ने कार्यक्रमसमेत छ ।
यी दुई दल एक अर्काप्रति आकर्षित भई एकताको बिन्दुमा कसरी पुगे ? यसका लागि दुबै पार्टीले अंगालेको नीति र दुई दलमा रहेका नेताहरूको सामिप्यतालाई जोडेर हेर्नुपर्ने हुन्छ ।
रास्वपाले गठन गरेको उच्चस्तरीय संवाद समितिको संयोजक डा.स्वर्णिम वाग्लेको विवेकशीलका संस्थापक दिवंगत उज्ज्वल थापासँगको निकटता बूढानीलकण्ठ स्कूलदेखि थियो । बूढानीलकण्ठ स्कूलमा अध्ययन गरेका स्वर्णिम र उज्ज्वलको सम्बन्ध नेपालदेखि अमेरिकासम्मै घनिष्ठ थियो ।
दुबै दलले एकले अर्कोलाई मित्रशक्तिका रूपमा परिभाषित गर्दै आएका थिए । वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरू एकीकरण गर्ने नीति दुबै दलले बनाएका थिए ।
एकले अर्कालाई मित्र शक्तिको रुपमा परिभाषित गरेसँगै एकताका लागि दुबै पक्ष सकारात्मक बनेको दुबै दलका नेताहरूले जानकारी गराएका छन् ।
गत जेठको १८ गते विवेकशील साझाले संस्थापक उज्ज्वलको स्मृतिमा राखेको कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल सहभागी थिए ।
अर्यालले लिखित मन्तव्यमा विवेकशील साझासँग ध्रुवीकरण वा एकीकरणको प्रस्ताव राखे । उक्त प्रस्तावलाई विवेकशील साझाले सकरात्मक प्रस्तावका रूपमा ग्रहण गर्यो । दुई दल थप नजिक बनाउने अर्को जग विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले निर्माण गरे ।
जेनजी आन्दोलनले दल गठन, एकता, विलय हुने क्रम ह्वात्तै बढ्यो । यसै क्रममा वैकल्पिक शक्तिहरूको एकता वा संवादका लागि ती दलहरूले कार्यदल गठन गरेर संवाद सुरु गरे ।
रास्वपाले उपसभापति डा. स्वर्णिम र विवेकशील साझाले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा उच्चस्तरीय संवाद समिति बनायो ।
नयाँ शक्तिका रूपमा उभिएका दल, अभियन्ता लगायतसँग दुबै पक्षले संवाद सुरु गरे । दुबै पक्षले एकताका लागि ऊर्जामन्त्री कुलमान घिसिङसँग छलफल गरेपनि मिलनबिन्दु पहिल्याउन भने सकेनन् । कुलमान छुट्टै अघि बढ्न खोजेपछि रास्वपा र विवेकशील साझाले संवाद भने टुटाएनन् ।यसले निरन्तर्ता पाएसँगै पार्टी एकिरणमा पुगेको हो ।
विवेकशील साझा पार्टीका उपाध्यक्ष एवं उक्त दलका वार्ता टोलीका संयोजक परियारका अनुसार पाँच चरणमा दुई पक्षमा संवाद गरेर एकताको टुंगो लागेको हो । रास्वपाबाट संवादमा उपसभापति स्वर्णिम, सहमहामन्त्री विपीन आचार्य र नेता शिशिर खनाल संलग्न थिए । विवेकशील साझाबाट उपाध्यक्ष परियार र महासचिव रञ्जु दर्शना सहभागी थिए ।
दुई दलबीच एकता गर्ने टुंगो लागेसँगै गत बुधबार विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक बसेर एकतालाई अनुमोदन गर्यो ।यो सँगै विवेकशील साझाको पार्टी नै विलय भएको छ ।















प्रतिक्रिया दिनुहोस्