“इन्द्रेणी विवाह” विशेष कार्यक्रम हुँदै

काठमाडौँ – नेपालमा इन्द्रेणी विवाह (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीबीच हुने समावेशी/रेनबो विवाह) लाई कानुनी मान्यता दिने सर्वोच्च अदालतको ऐतिहासिक अन्तरिम आदेश जारी भएको दुई वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदैछ।

असार १२ गते न्यायाधीश तिल प्रसाद श्रेष्ठको एकल इजलासले परम्परागत विपरितलिंगी मोडेलभन्दा बाहिर रहेका, अर्थात् एक–अर्काको सहमतिको आधारमा विवाह गर्न इच्छुक दुईजना वयस्कबीच हुने इन्द्रेणी विवाहलाई वैधानिक रूपमा दर्ता गर्न सकिने भन्ने ऐतिहासिक निर्णय सुनाएको थियो।

यो आदेशले वर्षौँदेखि नागरिक अधिकार, पहिचान, र अस्तित्वका लागि लडिरहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका जोडीहरूलाई पहिलोपटक नेपाल राज्यद्वारा मान्यता प्राप्त भएको आशा र समानताको ढोका खोलेको रूपमा लिइन्छ।

सर्वोच्च अदालतको आदेशपछि २०८० मङ्सिर १३ गते लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले दक्षिण एसियामै पहिलोपटक इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गर्न सफल भएका थिए।

वर्षौँदेखि सामाजिक अस्वीकार, प्रशासनिक ढिलासुस्ती, कानुनी अस्पष्टता र राज्यको मौनतासँग सङ्घर्ष गर्दै आएका उनीहरूले दर्ताको क्षणलाई ‘इतिहासको मोड’ र ‘दशकौँको सङ्घर्षको प्रतिफल’ का रूपमा व्याख्या गर्दै आएका छन्।

मङ्सिर १३ को सम्झना र सम्मान स्वरूप विशेष कार्यक्रम आयोजना गर्न लागेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले जानकारी दिए। पन्तले सर्वोच्चको असार १२ को आदेशलाई ‘दृष्टिकोण परिवर्तन गर्ने मोड’ का रूपमा स्मरण गर्दै यो फैसला नहुँदासम्म राज्य संरचना र कानुनी प्रक्रियाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीहरूको पीडा, सङ्घर्ष र मानवीय अधिकारलाई बेवास्ता गरेको तीतो वास्तविकता पनि उजागर गरेका छन्।

आयोजकहरूले विशेष कार्यक्रममा सर्वोच्च अदालतको दूरदर्शी आदेशप्रति कृतज्ञता व्यक्त गरिने जनाएका छन्। नेपालमा पहिलोपटक कानुनी रूपमा समावेशी/रेनबो विवाह दर्ता गराउने जोडी माया गुरुङ र सुरेन्द्र पाण्डे (जसले ‘मायाको पहिचान नेपाल’ स्थापना गरेका छन्) समेत कार्यक्रमका प्रमुख आकर्षण रहनेछन्।

उनीहरूको वर्षौँको कानुनी लडाइँ, बुवाआमासँगको सङ्घर्ष, स्थानीय प्रशासनका अस्वीकारहरू, र अन्ततः हासिल भएको मान्यताले आजको समारोहलाई ऐतिहासिक बनाएको आयोजक मायाको पहिचान नेपालले बताएको छ।

समावेशी विवाहका उपलब्धिहरू, रोकिएका प्रक्रियाहरू, प्रशासनिक चुनौती, कानुनी सुधारका आवश्यकता र आगामी मार्गचित्रबारे बहस–संवाद गर्न आयोजित कार्यक्रममा “समावेशी विवाह : अहिलेसम्मका उपलब्धि र गर्न बाँकी के–के छन्?” भन्ने शीर्षकमा छलफल हुने संविधान सभाका सदस्य समेत रहेका कार्यकारी निर्देशक पन्तले जानकारी दिए।

कार्यक्रम मायाको पहिचान नेपालको कार्यालय, टङ्कप्रसाद घुम्ती सडक, अनामनगर, काठमाडौँमा बिहान ११ बजे हुनेछ। आयोजकहरूले यो अवसरलाई पुन:स्मरण, संवाद र उत्सवको रूपमा मनाउन सबैलाई निमन्त्रणा गरेका छन्।

कार्यक्रममा उपस्थित भएर समाचार संकलनका लागि मायाको पहिचान नेपालले सबैलाई निम्तो पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्