प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले सर्वोच्चमा पेश गरेको रिट निवेदन दर्ता
काठमाडौं, १० मंसिर । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ ।
एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले हिजो (मंगलबार) सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए । हिजो अध्ययनकै क्रममा रहेको रिट निवेदन आज भने दर्ता भएको छ ।
उक्त निवेदन दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ । त्यस्तै, अदालतले यही मंसिर १७ गतेका लागि पेशी तोकिएको पनि जानकारी गराइएको छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए । उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।
कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका थिए । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ । सरकारले फागुन २१ गते गर्ने गरि निर्वाचन घोाषणा गरिसकेको छ । एमालेले पनि निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ । फागुन २१ हुने प्रतिनिधि सभाका लागि दल दर्ताको मिति आज अन्तिम हो । त्यसैले एएमालेले हिजो नै दल दर्ता गरिसकेको छ ।















प्रतिक्रिया दिनुहोस्