मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
काठमाडौं, ८ मंसिर । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौंको जोरपाटीका अर्याल २०७७ माघ १९ गते सचिव बढुवा भएका थिए। उनी २०५३ साल वैशाख १९ गतेबाट निजामती सेवा प्रविष्ट भएका हुन्।
तथ्यांक शास्त्रमा स्नातकोत्तर अर्याल केन्द्रीय तथ्यांक विभागमा शाखा अधिकृतको रूपमा प्रवेश गरेका थिए भने सोही विभागमा महानिर्देशक सम्मको जिम्मेवारीमा पुगेका थिए।
अर्यालसँग सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेको अनुभव छ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय योजना आयोगसमेत काम गरेका थिए।
प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेको अवधिमा उनी सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम तर्जुमा समिति संयोजक बनेका थिए। उनलाई निजामती क्षेत्रमा कुशल प्रशासकका रूपमा समेत मान्ने गरिन्छ।
५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि) बाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेका हुन् ।
एकनारायण १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए ।















प्रतिक्रिया दिनुहोस्