एमालेले नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै
काठमाडौं, ५ मंसिर । राजनीतिक ध्रुविकरण बढ्दै गएको बेला नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ । माइतीघर मण्डलामा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा घोषणा सभा गरिने भएको हो ।
जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३(२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको बताए ।
फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्य रहेको एमालेले बताएको छ ।
बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने छन् । सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओलीलगायत नेताका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेको जिकिर छ ।
प्रदेश र जिल्लामा पनि यस्तो संरचना बनाइने एमालेको तयारी छ । एनभीएफमा एकजना कमाण्डर र दुईजना साहायक कमाण्डर राखिनेछ ।















प्रतिक्रिया दिनुहोस्