कांग्रेस केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा संस्थापनइतर समूह एकमत

काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको सम्भावना टर्दै गएको निष्कर्ष सहित विशेष महाधिवेशन गर्नैुुको विकल्प नभएको छ । संस्थापनइतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा एकमत देखिएको छ ।

काठमाडौंको विशालनगरमा मंगलबार नेता डा। शेखर कोइरालाले बोलाएको अनौपचारिक छलफलमा इतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा एकमत देखिएको हो ।

कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा नेता कोइरालासहित महामन्त्री गगनकुमार थापा, सहमन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, विशेष महाधिवेशन पक्षधर देवराज चालिसे र गुरु घिमिरे सहभागी थिए ।

कोइरालाले उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पनि छलफलमा बोलाएका थिए । तर, उपसभापति गुरुङ उपत्यका बाहिर र महामन्त्री शर्मा काम विशेषका कारण छलफलमा उपस्थित हुन नसकेका कोइरालाको सचिवालयले जनाएको छ ।

उनीहरूले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुलाई निकासको उपयुक्त विकल्पका रूपमा अघि सारेका छन् । छलफलमा नेताहरूले विशेष महाधिवेशनमा जाने निष्कर्ष निकाले पनि यसको प्रक्रियामा भने सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् ।

छलफलमा सहभागी विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको नेतृत्व गरेका नेतामध्येका एक देवराज चालिसेले विशेष महाधिवेशनमा जाने विधि र परिणाममुखी बनाउने उपायबारे छलफल भएको जानकारी दिए ।

‘नियमित महाधिवेशनको सम्भावना लगभग टर्दै गयो । अब विशेष महाधिवेशनमै हो जाने,’ उनले भने, ‘यसमा जाने कसरी र टुंग्याउने कसरी, कसरी परिणाममुखी बनाउने भन्ने कुरामै छलफल भयो ।’

 

प्रतिक्रिया दिनुहोस्