बाला चतुर्दशी मेलामा जाँदा बहुमूल्य गरगहना नलगाई जान आग्रह

काठमाडौं, २ मंसिर । प्रहरी परिसर, काठमाडौंले बाला चतुर्दशी मेलामा जाँदा बहुमूल्य सरसामान तथा गरगहना नलिई जान आग्रह गरेको छ ।

काठमाडौंको पशुपति क्षेत्रमा लाग्ने बाला चतुर्दशी मेलामा सहभागी हुने भक्तजनहरूलाई पकेटमार, चोरी तथा लुटपाटबाट सावधान रहन प्रहरीले आग्रह गरेको छ । बहुमूल्य सरसामान तथा गरगहना लुटपाट हुनसक्ने भन्दै सचेत रहन प्रहरीले अनुरोध गरेको हो ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सम्झनामा मनाइने बाला चतुर्दशी मेला आज लाग्दै छ ।

पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ ।

प्रतिक्रिया दिनुहोस्