नेपाल टेलिकमको आम्दानी घटेसंगै नाफामा गिरावट
काठमाडौं,१ मंसिर । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.८२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी घटेकोले खुद नाफा घट्न पुगेको हो । यस अवधिमा कम्पनीको आम्दानी ०.०१ प्रतिशत र वित्तीय आम्दानी ४८.९९ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५.८९ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९ रुपैयाँ २१ पैसा घटेर २९ रुपैयाँ ४५ पैसामा झरेको छ । पहिलो त्रयमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०५ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.७२ गुणा रहेको छ ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब ३ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।















प्रतिक्रिया दिनुहोस्