बालेनको समर्थनमा ‘देश विकास पार्टी’ दर्ताको तयारी

काठमाडौं, २६ कार्तिक । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले आफ्नै सचिवालय सदस्यहरूमार्फत राजनीतिक दल खोल्ने तयारी गरेका छन् ।

‘उज्यालो नेपाल’ पार्टी खोल्ने तयारी गरेका ऊर्जामन्त्री कुलमान घिसिङसँग कुरा नमिलेपछि मेयर बालेनले सचिवालयकै एक सदस्यको संयोजकत्वमा पार्टी दर्ता गर्ने तयारी भएको स्रोतले जनाएको छ ।
मेयर बालेननिकट एक सदस्यका अनुसार ‘कुलमान घिसिङबाट पार्टीमा आउनु भनेर पटक–पटक हाम्रा साथीहरूलाई नागरिकतालगायत कागजात माग गरिएको थियो, तर कोही पनि गएका छैननन् ।
उनका अनुसार पहिले मेयर बालेन पनि आफूहरूबाट कसैलाई कुलमानको टिम पठाउनुपर्छ भन्नेमा थिए । ‘घिसिङले पार्टी खोल्न गरेको समझदारीमै प्रश्न उठेपछि हाम्रो टोली फर्केको हो,’ उनले भने । ती सदस्यका अनुसार कुलमानले पार्टीका नाम र अन्य केही विषयमा लचिलो हुने भने पनि अन्तिममा एकल निर्णय गरेकाले आफूहरूको टिम ब्याक भएको उनले बताए ।

अब बालेनको नेतृत्वमा ‘देश विकास पार्टी’ नामक नयाँ दल दर्ता हुने प्रक्रियामा रहेको स्रोतको दाबी छ । उक्त पार्टी सुदीप ढकालको संयोजकत्वमा दर्ता हुने तयारीमा छ भने चुनाव चिह्न ‘लौरो’ प्रस्ताव गरिएको छ । यद्यपि यो चुनाव चिह्न अहिले ‘हामी नेपाली पार्टी’सँग रहेको निर्वाचन आयोगले जनाएको छ ।

‘बालेन सचिवालयका सदस्य ढकालले भने अहिलेसम्म यसबारे कुनै औपचारिक निर्णय भइनसकेको बताएका छन् । ‘औपचारिक निर्णय केही भएको छैन, राजनीतिक गतिविधिमा संलग्न हुने सम्भावना त खुला नै छ नि,’ उनले भने ।

ढकालले कुलमानजीसँगै मिलेर जाने भन्ने कुरा भएको थियो, तर सहमति कार्यान्वयन नभएको अवस्था रहेको बताए ।

जेनजीले पारदर्शिता र जवाफदेहिता चाहेको उल्लेख गर्दै ढकालले थपे, ‘हामीले चाहेको पारदर्शिता र एकाउन्टिबिलिटी हो, कुलमानसँगको छलफलमा यी पक्षहरूमा कमी देखिएको उनले बताए ।

जेनजीलाई अगाडि सार्ने रणनीति

कसैले वैकल्पिक राजनीतिक दल एक हुनेगरी पार्टी नखोले र जेनजीहरूको माग सम्बोधन हुनेगरी काम नगरे दल खोल्नुपर्ने अवस्था आउन सक्ने ढकालले प्रस्ट्याए । ‘

ढकालले जेनजीका अधिकांश अनुहारले जहाँ हुन्छन्, त्यहीँबाट आफूहरूलाई समर्थन गर्ने समेत बताए ।

बालेननिकट सचिवालयका अर्का सदस्यका अनुसार घिसिङको पार्टीमा सहभागी हुन महानगरका सहरी योजना आयोगका सहायक विज्ञ सन्तोष गिरीको नाम पठाइएको थियो ।

यो विषयमा थप बुझ्न रातोपाटीले बालेन सचिवालयका १० भन्दा बढी सदस्यहरूसँग कुरा गरेको थियो । जहाँ सात जनाले पार्टीको तयारी भएको स्वीकार गरेका छन् ।

बालेनको सहभागिता के हो रु

बालेन सचिवालयको सक्रियतामा खोल्न लागिएको पार्टीमा बालेनले समर्थन गर्ने भए पनि प्रत्यक्ष रूपमा अब हुने संसदीय निर्वाचनमा भने उनी भाग लिने मनसायमा देखिएका छैनन् । स्रोतका अनुसार जेनजी आन्दोलनको मर्म बोक्ने पार्टी आवश्यक भएको र चुनावअघि देखिएको विश्वस्त पार्टी अभाव भएको कारण बालेनले खुलेरै यो पार्टीलाई समर्थन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्