राधी विद्युत कम्पनीको नाफामा आकर्षक वृद्घि, ईपीएस ६० रुपैयाँ ५८ पैसा

काठमाडौं,२५ कार्तिक । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी सो अवधिसम्ममा ६० रुपैयाँ ५८ पैसा पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ रुपैयाँ ६२ पैसा बढेको हो । कम्पनीको नाफा उल्लेख्य बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ८११.६३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा ३ करोड ५ लाख रुपैयाँ रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

विद्युत बिक्री आम्दानी सामान्य बढेपनि अन्य आम्दानी उल्लेख्य बढेका कारण कम्पनीको खुद नाफा, सञ्चालन मुनाफा र प्रतिशेयर आम्दानी सर्ब उच्च बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.४६ प्रतिशत बढेर ४ करोड ६ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । जसका कारण कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा १ हजार ३९६.०८ प्रतिशत बढेको छ ।

पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०।४३ गुणामा झरेको छ ।

यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ रहेको यस कम्पनीको अन्य इक्विटीमा ९७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्