प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त
काठमाडौं, २४ कार्तिक। नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
उनलाई सो कुरा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
नेपाल प्रहरीको ३३ औं आईजीपीको रुपमा दानबहादुर कार्की नियुक्त भएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजी कार्की आईजीपीको पहिलो दाबेदार थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनै कार्कीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पेको हो ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । कार्कीले अब २७ कात्तिकबाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् । संगठनमा उनी इमान्दार प्रहरीको रुपमा चिनिन्छन् ।
उनी १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरको रुपमा भर्ना भएका थिए । जसअनुसार विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उनी करिब साढे २ वर्ष नेतृत्वमा रहनेछन् ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।
२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।
डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।
चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।
कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।
विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।















प्रतिक्रिया दिनुहोस्