सिद्धार्थ बैंक र सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

काठमाडौं,१७ कात्तिक । नेपाल स्टक एक्सचेञ्जमा दुई वाणिज्य बैंकहरुको शेयरमूल्य समायोजन भएको छ । आज नेप्सेमा सिद्धार्थ बैंक लि. र सिटिजन्स बैंक इन्टरनेशनलको मूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन दुबैं बैंकहरुको ५/५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात सिद्धार्थको शेयरमूल्य ३४९ रुपैयाँ ५२ पैसा कायम भएको छ भने सिटिजन्सको २०२ रुपैयाँ कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी बैंकहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा सिद्धार्थ बैंकको शेयर प्रतिकित्तक ३६७ रुपैयाँमा कारोबार भएको थियो भने सिटिजन्सको शेयर प्रतिकित्ता २१२ रुपेयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी बैंकहरुको शेयर कारोबार खुल्नेछ ।
सिद्धार्थ बैंकले कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा चौबीसौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सिटिजन्स बैंकले भने हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्