कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित
काठमाडौं,१६ कात्तिक । आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि अन्तिम समयमा आएर स्थगित भएको छ ।
शुक्रबार पनि बस्दै नबसी आजका लागि बैठक तय गरेर स्थगित भएको थियो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो ।
बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेका थिए ।
महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्नु पर्ने प्रस्तावसमेत गरेका थिए ।
कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफलको तयारी गरेका छन् ।
आजका लागि बोलाइएको बैठक १८ कात्तिक दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्