सामान्य बढ्यो कामना सेवा विकास बैंकको नाफा

काठमाडौं,१६ कार्तिक । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.०६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.२० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १८.२७ प्रतिशत र सञ्चालन मुनाफा १०.८६ प्रतिशत बढेको छ ।

नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने ३५.५६ प्रतिशत घटेको छ । बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ३.९६ प्रतिशतबाट बढेर ४.४१ प्रतिशत पुगेको छ । जसका कारण इम्पेरमेन्ट चार्ज पनि ४ करोड ८७ लाख रुपैयाँबाट बढेर ११ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५३ पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९० पैसा घटेर १४ रुपैयाँ १ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.१८ गुणा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा रहेको छ।

३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २ करोड ३ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्