समाजवादीको बहुमत सदस्यले माओवादीमा जाने निर्णय गर्‍यो, हामी जाँदनौंः झाँक्री

काठमाडौं, १४ कार्तिक । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र बहुमतको आधारमा नेकपा माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भएको बताउँदै तर आफूहरू उक्त प्रक्रियामा सहभागी नहुने बताएकी छन् ।

नेकपा माओवादी केन्द्रसँग वाम एकता नभई मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकता प्रक्रियामा समाहित नहुने उनले बताए ।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको बताइन् ।

पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा पार्टीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिने उनको जिकिर छ ।

उनले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरूसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताइन् ।

वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरु पार्टी एकतामा सामेल नहुने उनले बताइन् । उनले यो एकताले पार्टी लोप हुने अवस्था आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्