कांग्रेसमा महाधिवेशन कार्यतालिका विवाद मिलाउन कावा सभापति र महामन्त्रीहरु बैठकमा
काठमाडौँ,१४कार्तिक । कांग्रेसको महाधिवेशन तालिकालाई लिएर चर्केको विवाद समाधानका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बैठक राखेका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि बैठक बस्न लागेको हो । बैठक १ बजेका लागि तय गरिएकोे छ ।
महामन्त्रीद्वय थापा र शर्माले निर्वाचनअगाडि नै र संस्थापन पक्षका नेताहरुले निर्वाचन पछाडि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएका छन् । जेन(जी आन्दोलनपछिको नयाँ परिस्थितिमा पार्टीको नीति र नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जनताको विश्वास जित्न नसकिने तर्क महामन्त्रीपक्षहरुको छ ।
महामन्त्री थापा बिहीबारकै बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारीका साथ सानेपा पुगेका थिए । तर, बैठकअघिको छलफलमा आफ्नो समूहको अप्ठ्यारो रहेको बताउँदै खड्काले तालिका प्रस्तुत गर्ने अनुमति नदिने देखेपछि महामन्त्री थापा झोक्किएर बैठक स्थलमा प्रवेश नै नगरी बाहिरिएका थिए ।
त्यस्तै, अर्को महामन्त्री शर्मा भने बैठकमा सहभागी थिए । कांग्रेस बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने एजेन्डा सभापतिको सहमतिमा मात्रै प्रस्तुत गर्ने पार्टीमा चलन छ ।
संस्थापन पक्षले निर्वाचनको मुखमा महाधिवेशन गर्दा पार्टीभित्र विभाजन बढाउने र त्यसको असर निर्वाचनमा पर्ने भन्दै पार्टीको अधिवेशन फागुन अगाडि सम्भव नभएको तर्क गर्दै आइरहेका छन् । उनीहरुले अधिवेशनको अहिल्यै कार्यतालिका ल्याउने भए वैशाखमा महाधिवेशन गर्नेगरी ल्याउनुपर्ने अडान लिएका छन् ।
थापा पक्ष भने मंसिरभित्र नै तालिका ल्याउनुपर्ने अडानमा छ । त्यतिन्जेल काम नभ्याइएमा पुसको १५, १६ गतेसम्म समय बढाउन सकिनेमा उनीहरु लचक देखिएका छन । अर्का महामन्त्री शर्माले मंसिर मसान्तभित्र नसकिए पार्टीका संस्थापक नेता बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केको अवसरमा महाधिवेशन सम्पन्न गर्न सकिने एउटा विकल्पसमेत अघि सारेका थिए ।
त्यसमा समेत संस्थापनपक्ष तयार भएको छैन । कार्यवाहक सभापति खड्काले पार्टीभित्र बृहत् एकताका लागि आफूले सबै पक्षलाई मिलाएर जान खोजिरहेको र सहमतिका लागि प्रयास भइरहेको उनको भनाइ छ ।
पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा नेता शेखर कोइरालाले पनि आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् । आफ्नो सम्पर्क कार्यालय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग आज बिहान कोइरालाले छलफल गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्