रास्वपाले नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउन व्यापक गृहकार्य गर्दै, १४ गते बृहत् राजनीतिक संवाद गर्ने तयारी
काठमाडौँ, १२ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीले बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति र समूहसँग वार्ता भइरहेको जनाएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति एवं समूहहरूबिच वृहत् राजनीतिक एलायन्स निर्माणको गृहकार्य स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न चरणमा द्विपक्षीय संवादहरू गरिरहेको विदितै छ।
गत तीन वर्षको सङ्घर्षशील संसदीय अनुभवको जगमा हाल छरिएर रहेका समान विचार बोल्नेहरूलाई एकताबद्ध गर्ने प्रयास भइरहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘प्रवास र स्वदेशका आम नेपाली जनताले आशा–अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि यही कार्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरिएको छ।’
वृहत् राजनीतिक संवादको उद्देश्य आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखाङ्कन र उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यता भएको उल्लेख छ।















प्रतिक्रिया दिनुहोस्