तनहुँमा माइक्रोबस दुर्घटना हुँदा १ को मृत्यु, १३ घाइते

काठमाडौं,११ कार्तिक । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आज दिउँसो करिब १२:२० बजेको समयमा चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा प्र०३–००१ ज ०९३७ नम्बरको इभी माइक्रोबसले नियन्त्रण गुमाएर सडक छेउको भित्तामा ठोक्किँदा र त्यहाँ रोकी राखिएको नेपाल विद्युत प्राधिकरणको बा १ ञ १२८७ नम्बरको सवारीसँग ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भरतपुर–१६ की ५५ वर्षीया बुधमाया तामाङको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, सो दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्