प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै
काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् ।
सरकारले दलसँग संवाद नगरेको आरोप सरकारलाई लागि रहेको बेला प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल आज अपराह्न चार बजे आह्वान गरिएको हो । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भदौ २७ गते गठन भएको थियो । सो सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरेको छ ।
पुराना दलहरुप्रति कडा रबैया अपनाएको र चुनावको वातावरण बिथोल्न खोजेको आरोप लागेका बेला प्रधानमन्त्री कार्कीले दलका नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको समेत उपस्थितिमा दलहरुसँग छलफल गरेका थिए । यसले दलहरु निर्वाचनको बारेमा व्यापक छलफल गर्ने छन् ।















प्रतिक्रिया दिनुहोस्