मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,३० असोज । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १९ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १५ गते गर्ने भएको छ । सभा कास्कीको पोखरास्थित होटल ग्रान्ड पार्दीमा बिहान १० बजे बोलाइएको हो ।

बैंकले वितरण गर्ने लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । आज असोज ३० गतेसम्म कायम शेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित कुल १८.२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश कर सहित रहेको छ ।

सोही सभाले मुक्तिनाथलाई वाणिज्य बैंक बनाउने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन पनि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ८ अर्ब ३ लाख ८८ हजार ७६७।११ रुपैयाँ र गत वर्ष पारित भएको १ अर्ब रुपैयाँ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी भएपछि बैंकको जारी तथा चुक्तापुँजी ९ अर्ब ३ लाख ८८ हजार ७६७.११ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गर्नेछ । सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्