नेपाली गौरवको प्रतीक विपीनको वीरतापूर्ण कार्य, त्याग र बहादुरीलाई राष्ट्रले सधै सम्झि रहनेछः प्रधानमन्त्री कार्की
काठमाडौं, २९ आश्विन । प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको मृत्युको खबरले आफू स्तब्ध भएको बताएकी छन् ।
विपीनप्रति समवेदना सन्देश प्रकट गर्दै कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच विपीनको दुःखद मृत्युको हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको उल्लेख गरेकी छन् ।
विपीनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने भन्दै उनले यो वीरतापूर्ण कार्यले उनलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्ने बताएकी छन् ।
‘विपीन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो । उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो’, उनले भनेकी छन् ।
सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्न पुगेको भन्दै कार्कीले लेखेकी छन्, ‘उहाँको अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए । उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ ।’
बन्धक हुनुपूर्वका अन्तिम क्षणमा विपीनको अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर कैयौँ साथीहरूको ज्यान बचाएकोप्रति प्रधानमन्त्रीले कृतज्ञता प्रकट गरेकी छन् ।
















प्रतिक्रिया दिनुहोस्