नेप्से व्यवस्थापनले बोनसको विषय टुङ्गयाउन सर्वोच्चलाई गुहार्यो

काठमाडौं,२९ असोज । कर्मचारीले पाउने बोनसका विषयमा कानुनी व्याख्या गर्न नेपाल स्टक एक्सचेन्जको व्यवस्थापन समितिले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

नेप्सेको व्यवस्थापन समितिले मंगलबार सर्वोच्चमा रिट दायर गरेको हो। रिट दायर गर्न नेप्से सञ्चालक समितिले व्यवस्थापन समितिलाई अधिकार प्रदान गरेको थियो । रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ । रिटमा नेपाल सरकार र अर्थ मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

केही वर्षदेखि नेप्सेमा कर्मचारीले पाउने बोनसका विषयमा विवाद हुँदै आएको छ । कर्मचारीले नियमसंगत ढंगले ५ प्रतिशत बोनस पाउनुपर्ने माग गर्दै आएका छन्। तर, अर्थ मन्त्रालयले भने १ प्रतिशतमात्र दिन नेप्से सञ्चालक समितिले पत्र पठाउँदै आएको छ । अर्थले १ प्रतिशतभन्दा बढी बोनस विवरण गरे सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने निर्देशन दिएको छ ।

अब सर्वोच्चले नै कर्मचारीले पाउने बोनसका विषयमा कानुनी व्याख्या गर्ने नेप्सेका सीईओ चूडामणि चापागाईंले बताए ।

कर्मचारीले नेप्से सञ्चालक समितिलाई विपक्षी बनाउँदै यसअघि श्रम कार्यालय र श्रम अदालतमा मुद्दा दायर गरेका थिए । तर, श्रम कार्यालय र श्रम अदालतले कहिले कर्मचारीको पक्षमा त कहिले अर्थ मन्त्रालयको पक्षमा फैसला गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्