अर्थमन्त्रीद्वारा अमेरिकी उच्च अधिकारीहरु र विभिन्न दातृ निकायसँग छलफल
काठमाडौं, २९ आश्विन । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिकाबीचको आपसी व्यापार र लगानी प्रवद्र्धनका विषयमा छलफलगर्नुका साथै नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह गरेका छन्।
त्यसैगरी अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशका सम्बन्ध सुदृढ गर्नेलगायत आपसी हितका विषयमा संवादभएको थियो । त्यसै अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग(जाइका)का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।
खनालले साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाइ र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराए । जापान सहयोग नियोगका प्रतिनिधिसँग बीपी राजमार्ग पुनस्र्थापना, नागढुंगा सुरुङमार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउनेलगायतका विषयमा छलफल भएको छ ।
त्यसैगरी अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एसिया प्रसान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा संचालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरे ।
सोही अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदान प्रदान भएको थियो । त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो ।















प्रतिक्रिया दिनुहोस्