एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै

काठमाडौं, २९ असोज। जेनजी आन्दोलनपछि पार्टीको धारणा बनाउन नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको भनिमण्डल स्थित रामबाघ महलमा हुने बैठक तीन दिनसम्म चल्नेछ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ओलीको प्रतिवेदनमा समसामयिक राजनीति,जेन जी आन्दोलन,घुसपैठ,व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषय समेटिने छन् ।

यसैगरी अलोकतान्त्रिक ढंगले अन्तरिम सरकारको गठन,असंवैधानिक ढंगले संसदको विघठन र यसका असरका बारेमा पनि ओलीको प्रतिवेदनमा समेटिने नेताहरूको भनाइ छ ।

प्रतिवेदनमा सरकारले नगर्ने निर्वाचनको हौवा पिटाएको, सरकारले दलहरूसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको विषय उल्लेख हुनेछन् । प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान समेत तोक्ने छ ।

नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने अपेक्षा केन्द्रीय सदस्यहरुको छ । यसैगरी लोकतन्त्र रक्षाका लागि संविधान पक्षधर शक्तिहरूलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्ने एमालेको तयारी छ ।

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ । केन्द्रीय सदस्यहरूलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्