कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, देउवा पनि सहभागी
काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो।
आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने उनी निकट नेताहरुले बताएका छन् ।
जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेका हुन् ।
आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय कार्यसमिति बैठक अघि ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
मंसिर भित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन सकेको छैन ।















प्रतिक्रिया दिनुहोस्