चुनाव अघि नियमित महाधिवशेन गर्न नेविसंघको सुझाव

काठमाडौं, २७ असोज। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले चुनाव अघि नै पार्टीको नियमित महाधिवशेन गर्न ध्यानाकर्षण गराएको छ।

पार्टीमा नियमित वा विशेष महाधिवशेनको बहस चलिरहेको बेला नेविसंघले चुनाव अघि नै १५ औं महाधिवशेन गर्न पार्टीको ध्यानाकर्षण गराएको छ। २५ असोजमा भएको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै नेविसंघले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेतिथि विरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा अघि बढाउने जनाएको छ ।

संवैधानिक अंगहरुमा नियुक्ति दलीय भागवण्डाबाट मुक्त हुनुपर्ने माग गरेको नेविसंघले सबै राजनीतिक दलहरूको पुनर्संरचना प्रक्रिया अघि बढाई पार्टी, संसद, संघीय, प्रदेश र स्थानीय तहका निकायहरूमा युवा तथा विद्यार्थीको कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ।

यस्तै, नेपाली कांग्रेसका सबै तहका पदाधिकारी र सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने नीति नै बनाउन पनि नेविसंघले माग गरेको छ।

‘पार्टीलाई भ्रष्टाचार र बेथितिबाट मुक्त गर्दै सुशासन र पारदर्शिता प्रवर्र्द्धन गर्ने उद्देश्यका साथ, पार्टीका इकाइ सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, केन्द्रीय सदस्य, पदाधिकारी तथा केन्द्रीय सभापतिसम्मका सम्पत्तिको अद्यावधिक विवरण पार्टीले प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति अवलम्बन गर्न नेपाल विद्यार्थी संघले पार्टीसमक्ष औपचारिक माग गर्ने निर्णय गरियो, नेविसंघको निर्णयमा भनिएको छ।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेनजी आन्दोलन भड्काउने अभिव्यक्ति दिएकाले छानविन हुनुपर्ने माग पनि नेविसंघले गरेको छ।

प्रतिक्रिया दिनुहोस्