हमास नियन्त्रणमा रहेका बन्धक इजरायली सैन्य टोली लाई हस्तान्तरण गर्ने तयारी

काठमाडौँ,२६ असोज । दुई वर्षदेखि गाजापट्टीमा बन्धक रहेकालाई प्यालेस्टिनी लडाकु समूह हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति मार्फत विशेष इजरायली सैन्य टोली (आईडीएफ)लाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

इजरायलको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले आईसीआरसी र आईडीएफबीच समन्वय भइरहेको जानकारी दिए । यसबारे प्रधानमन्त्री कार्यालयले आइतबार साँझ विस्तृतमा जानकारी दिनेछ ।

युद्धविराम सुरु भएसँगै शुक्रबार दिउँसो १२ बजेदेखि नै ७२ घण्टाको समयसीमा प्रारम्भ भइसकेको छ । यो अवधि सोमबार १२ बजेसम्म समाप्त हुनेछ ।

प्रारम्भिक जानकारी अनुसार बन्धकलाई लिन आईसीआरसी गाजापट्टीमै पुग्नेछ । त्यसपछि इजरायली सैन्य टोलीलाई हस्तान्तरण गरिनेछ । आईडीएफले उनीहरूलाई दक्षिण इजरायलस्थित रईम सैन्य बेसमा ल्याउनेछ । त्यहाँ बन्धकका परिवारका सदस्यहरू स्वागत स्थलमा उनीहरूलाई भेट्न प्रतीक्षा गर्नेछन् । त्यहाँबाट बन्धकहरूलाई थप उपचार र मनोपरामर्शको लागि हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइनेछ ।

हमासले अहिलेसम्म कति जना जीवित बन्धक र मृत्यु भएका बन्धकलाई एकैपटक आईसीआरसीको जिम्मा लगाइनेछ भन्ने खुलिसकेको छैन । इजरायलले ४८ जना बन्धकमध्ये २० जना मात्रै जीवित रहेको अनुमान गरेको छ । २६ जनाको मृत्यु भएको र नेपालका विपिन जोशी र इजरायली सेना तमिर निमरोडीको अवस्था भने अझै अज्ञात छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्