पश्चिमी वायुको प्रभावले गण्डकी र कर्णालीमा मध्यम वर्षा

काठमाडौं, २३ असोज। हाल पश्चिमी वायुको प्रभाव बढेसँगै मनसुनी वायु कमजोर हुँदै गएको छ । सम्भवतः एक–दुई दिनमै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव छ । यो क्रमशः पूर्वतर्फ सरिरहेको छ र जाडो महसुस पनि भइरहेको छ ।

पश्चिमी वायुको प्रभावले गण्डकी र कर्णालीमा मध्यम खालको वर्षासमेत भएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ । देशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिए।

विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्