काठमाडौंको संवेदनशील ठाउँमा प्रहरीको कमाण्डो टोली परिचालन

काठमाडौं, २१ असोज । आज बिहानैदेखि काठमाडौंको संवेदनशील ठाउँमा प्रहरीको कमाण्डो टोली परिचालन गरिएको छ । जेन(जी समूहको धम्कीपछि आज बिहान ७ बजेदेखि नै प्रधानमन्त्री निवास, बालुवाटार र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको क्षेत्रमा कमाण्डो टोली तैनाथ गरिएको हो ।

क्षेत्रमा कमाण्डो टोलीमा छानिएका’ प्रहरी अधिकृतलाई बोलाएर खटाइएको छ । साथै संवेदनशील क्षेत्रमा भिड जम्मा भए साथै सुरक्षालाई चुनौती दिने गतिविधि भए सिलसिलेबार बल प्रयोग गरिने भएको छ ।

सोमबार राति प्रधानमन्त्री निवास, बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आईजी चन्द्रकुवेर खापुङले प्रहरीलाई जेनजी समूहले कार्यालयमै आएर धम्की दिएकोप्रति आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रहरी मनोबल खस्किने कुनै पनि कार्य जायज नभएको बताएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार सुरक्षा चुनौती भएका ठाउँमा विशेष सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम आज बिहानैबाट दुई ठाउँमा कमाण्डो टोली परिचालन गरिएको छ ।

उक्त टोलीलाई भिड नियन्त्रणका निम्ति चेतावनी दिनेदेखि बल प्रयोग गर्नेसम्मको अधिकार छ ।

हामी नेपालका संस्थापक सुधन गुरुङसहितको टोली हिजो पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका थिए । प्रहरीले भदौ २३(२४ को घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै जाहेरी लिन इन्कार गर्‍यो ।

सुधनको टीम ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै निस्केको थियो । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै काठमाडौं उपत्यका प्रहरी परिसरले हिजै साँझ प्रहरी बिटका सबै टोलीलाई फिर्ता बोलाएको थियो । यसले गर्दा प्रहरी सरक्षामा संवेदनसिलता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्