नारायणगढ–मुग्लिन सडकखण्ड तुइन खोलामा फेरी पहिरो, आवागमन पूर्ण रूपमा अवरुद्ध

बाठमाडौं, १३ असोज । नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिकै फेरी पहिरो खसेकाले सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । केही दिनअघि पहिरो खसेकै स्थानमा आज बिहानदेखि सानो सानो आकारमा पहिरो खसिरहेको छ । बिहान एक चरण पहिरो हटाइएकामा झर्ने क्रम नरोकिएकाले यातायात फेरि अवरुद्ध बन्न पुगेको हो ।

सडक डिभिजन भरतपुरका अनुसार काठमाडौँबाट पोखरातर्फ जाने र आउने सवारी साधन सञ्चालनमा रहेता पनि चितवनतर्फ जाने र आउने सवारी साधन भने पहिरो पन्छाएपछि मात्र सञ्चालनमा आउने छन् ।

‘पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुनेछ,’ कार्यालयले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा आउने जाने सवारी आवागमन नाका सामान्य नै रहेको छ । काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधन सामान्य तवरले चलिरहेका छन् ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका २ स्थित रसुवागढीमा बाढीले नेपाल र चीन नाका जोड्ने पुलमा क्षति पुर्‍याएकोले सवारी आवागमन अवरुद्ध रहेको छ ।

सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा पहिरो खस्दा कोशी राजमार्ग भएर सञ्चालन हुने सवारी साधन आज पनि चल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्