एसवाई प्यानल आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं,१० असोज । एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले कुल जारी पुँजीको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि ४ लाख ९७ हजार ९२ कित्ता शेयर छुट्याइएको थियो । यसको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको तोकिएको शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको यस आईपीओमा निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादि रहेको छ ।















प्रतिक्रिया दिनुहोस्