प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन: शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनका प्रतिबद्धता

काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा भएको शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनका प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेको जानकारी दिँदै विशेषगरी जेनजी पुस्तालाई भोट हाल्ने वातावरण बनाइने बताएकी हुन् ।

उनले विदेशमा रहेका नेपालीहरूलाई समेत मतदानको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिन् । योग्य र सक्षम जनप्रतिनिधि छनोट गर्न सबै नागरिकलाई आग्रह गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई एकताबद्ध हुन आह्वान गरिन् ।

हालै भएको युवा पुस्ताको आन्दोलनलाई अभूतपूर्वु प्रदर्शनको संज्ञा दिँदै प्रधानमन्त्री कार्कीले दोषीहरूलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरिन् । जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका कतिपय विषयहरू तत्काल सम्बोधन गर्न नसकिने प्रकृतिका भएकाले आगामी निर्वाचनपश्चात् संवैधानिक प्रक्रियाबाट समाधान खोजिने पनि उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले क्षति भएका भवनहरूको पुनर्निर्माण कार्यमा सबै जुटिसकेको जानकारी दिँदै सुरक्षा निकायलाई पूर्ववत् अवस्थामा फर्काउने कार्य सुरु भइसकेको पनि बताइन् । आफ्नो ६ महिनाको कार्यकालमा इमानदार प्रयासका साथ धेरै काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सरकारी सेवालाई झन्झटमुक्त बनाउने आफ्नो प्रमुख प्राथमिकता रहने बताएकी छन् ।

सेवाग्राहीको काम सहज बनाउन उजुरीको व्यवस्था गर्ने र तीनै तहमा हटलाइन सेवा सञ्चालन गरिने जानकारी दिइन् । आर्थिक क्रियाकलापलाई सहज बनाउन एकीकृत कार्ययोजना ल्याइएको पनि प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्