मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोलाको पहिरो करिब ६० प्रतिशत हटाइयो

काठमाडौं,९ आश्विन । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोलामा झरेको पहिरो अहिलेसम्म करिब ६० प्रतिशत हटाइसकिएको सडक विभागले जनाएको छ ।

पहिरो पन्छाउन नारायणगढ तर्फबाट एक्साभेटर र लोडर एक–एक वटा परिचालन गरिएको छ । मुग्लिन तर्फबाट दुई वटा लोडर र एउटा एक्साभेटरले निरन्तर पहिरो पन्छाइरहेको छ । यसको अलावा दुवैतर्फ १/१ वटा ब्याकहो लोडर तैनाथ गरिएको विभागका प्रवक्ता प्रभातकुमार झाले बताए ।

काम गर्ने क्षेत्र साँघुरो भएकोले एकैपटक दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको विभागले जनाएको छ । पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूला–ठूला ढुंगाका कारण केही कठिनाइ भए तापनि उपकरणहरूले पूर्ण क्षमतासाथ काम गरिरहेको जनाइएको छ ।

पहिरोको थुप्रोमा ढुंगाको मात्रा बढी भएको र स–साना तिखा ढुंगाका कारण टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याका कारण सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभी इक्विपमेन्ट डिभिजन हेटौँडा र डुम्रेबाट दुई जना अपरेटर थप गरिएको छ ।

अब थप पहिरो नआए र निरन्तर रूपमा कार्य गर्न सकिए आज रातिसम्ममा पूरै पहिरो पन्छाएर सवारी आवागमन सञ्चालन हुने विश्वास विभागले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्