नेकपा एमालेका अध्यक्ष केपी ओली पदाधिकारी तहका नेताहरूसँग छलफलमा

काठमाडौं,७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन् । अध्यक्ष ओलीले अहिले पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफल गरिरहेको र त्यो छलफल सकेपछिमात्र पार्टीको बैठक बोलाइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन् ।

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिवहरू पद्‍मा अर्याललगायतसँग छलफल गरेका हुन् । अध्यक्षले अहिले वान टु वान छलफल गरिरहनुभएको छ, गौतमले भने ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक अवस्था बदलिएको छ । आन्दोलनपछि गैर दलीय सरकार गठन, प्रतिनिधि सभा विघटन र फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । संसद विघटनलाई प्रमुख राजनीतिक दलहरूले गैरसंवैधानिक भन्दै आएका छन् ।

नयाँ परिस्थितिपछि नेपाली कांग्रेस, माओवादी र रास्वपा लगायतका दलहरूले पार्टी कमिटीका औपचारिक बैठक बोलाएपनि एमालेले भने अहिलेसम्म त्यस्ता बैठक बोलाउन सकेको छैन ।

आन्दोलनका क्रममा ओलीको निजी घर समेत जलाइएपछि उनी भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीलाई सोही दिनदेखि करिब एक साता नेपाली सेनाको सुरक्षामा बसेका थिए ।

जेनजी आन्दोलनपछि एमालेभित्र समेत पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको चर्को बहस भइरहेको छ । तर, अध्यक्ष ओली त्यो बहसलाई स्विकार्न तयार भैसकेका छैनन् । त्यसैले पनि ओलीले नेताहरूसँग पहिला वान टु वान छलफल गरेको हुनसक्ने कतिपय नेताहरूको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्