दुर्गमका गाउँपालिकालाई काठमाडौँ महानगरको एम्बुलेन्स वितरण

काठमाडौं, ७ असोज । काठमाडौँ महानगरपालिकाले सूचना निकालेको झण्डै २ वर्षपछि मंगलबारदेखि दुर्गमका गाउँपालिकाहरूलाई एम्बुलेन्स वितरण सुरु गरेको छ ।

महानगरले देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न थालेको हो । आइतबार महानगर प्रमुख बालेन शाहले विगत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण हुने भन्दै सामाजिक सञ्जालमा हालेका थिए ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।

महानगरले आर्थिक वर्ष २०८०।८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो । यसको लागि २०८० असोज १० गते देशभरीका गाउँपालिकासँग महानगरले निवेदन मागेको थियो ।

सूचना बमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्डभित्र छनोट गरेर महानगरले गाउँपालिकाहरूलाई नियमअनुसार एम्बुलेन्स उपलब्ध गराउन थालेको हो । महानगरले एम्बुलेन्स खरिदका लागि उक्त आर्थिक वर्षमा ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो ।

काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि काठमाडौँ महानगरका मेयर बालेनको खोजी भएको थियो । कतिपयको आलोचना समेत गरिरहेका बेला बालेनले एम्बुलेन्स बाँड्ने घोषणा गरेर मंगलबारदेखि सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्