मंसिरमा विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव, राजनीतिमा उथलपुथलको संकेत
काठमाडौं,५ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विशेष महाधिवेशनको प्रस्ताव राखेका छन्। यसले राजनीतिक दलहरुमा जेनजीको आन्दोलनपछि नेतृत्वमा दवाव परेको रुपमा बुझिएको हो ।
पार्टीहरू रूपान्तरण हुनुपर्ने बहस चलि रहेका बेला बाँकी दलका नेताहरुलाई माओवादी केन्द्रको यो निणर्यले उथलपुथल ल्याउने निश्चित देखिएको छ ।
पेरिसडाँडामा आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन प्रस्ताव गरेको उपमहासचिव वर्षमान पुनले सेतोपाटीलाई बताए ।
उनका अनुसार अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भंग गर्ने प्रस्ताव पनि गरेका छन्। केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै अध्यक्ष प्रचण्ड संयोजक बनेका हुन्। पदाधिकारीसहित केन्द्रीय समिति सदस्य महाधिवेशन आयोजक समिति सदस्यमा रूपान्तरित भएका छन्।
२०७८ पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। यसअघि माओवादी केन्द्रभित्र विशेष महाधिवेशनबारे बहस उठे पनि अध्यक्ष प्रचण्डले त्यसमा रूचि देखाएका थिएनन्।
उपमहासचिव जनार्दन शर्माले केही समयदेखि विशेष महाधिवेशनको आवाज उठाउँदै आएका थिए ।
भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली सरकार ढलेर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।















प्रतिक्रिया दिनुहोस्