सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,५ असोज । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

अब भने कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्