नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो पन्छाउने काम रोकियो, बाटो आज नखुल्ने

काठमाडौं, ४ भदौ। नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो पन्छाउने काम सढे ६ बजेदेखि रोकिएको छ ।

पहिरो लगातार खसिरहेको कारण पन्छाउन जोखिम भएकोले आजको लागि पहिरो पन्छाउने काम रोकिएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।

रातको समयमा बत्तीको सहाराले भएपनि पहिरो पन्छाउने तयारी गरिएपनि साढे ६ बजे नै ठूलो पहिरो खसेपछि जोखिमका कारण पहिरो पन्छाउन रोकिएको हो । उनले पहिरो पन्छाउने काम भोलि बिहानैदेखि सुरु गर्ने जानकारी दिए ।

आज रातभर पहिरो नखसेको अवस्थामा भोलि दिउँसो देखि यातायात सञ्चालन गर्न सकिने अनुमान गरिएपनि पहिरो निरन्तर गइरहेका कारण यातायात पन्छाउने कतिबेला सकिन्छ भन्ने यकिन नभएको एसपी पुरीले बताए ।

नारायणगढ(मुग्लिन सडकको तुइन खोला नजिक पहिरो खसेको कारण चितवन भएर गुड्ने एक हजारभन्दा बढी गाडी सडकमा अलपत्र परेका छन् । हिजो दिउँसो ४ बजेदेखि नै रोकिएका यात्रुलाई खानेकुरा पानी लगायतको समस्या भएपछि आज जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा यात्रुहरुलाई पानीसहित खानेकुुरा वितरण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्