देउवाको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार, अझै केही दिन अस्पतालमै रहने

काठमाडौं,३ असोज । सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको नेपाली कांग्रेसले जानकारी गराएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले देउवाको स्वास्थ्यबारे जानकारी गराएका हुन् ।

“शुरुमा शेर बहादुर देउवा दम्पतीको स्वास्थ्य अवस्था गम्भिर थियो । उपचारका गर्दै जाँदा राम्रो हुँदै गयो र उहाँहरू अहिले सामान्य अवस्थामा हुनुहुन्छ । स्वास्थ्यमा सुधार भइरहेको छ,” विश्वकर्माले भने । सभापति देउवाको उपचार कहाँ भइरहेको भन्नेबारे भने उनले केहि बताएनन् ।

‘सभापतिज्यूले दिनुभएको जानकारी अनुसार, गर्दनभन्दा माथि गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ,’ विश्वकर्माले भने, ‘त्यो भन्दा तल सामान्य चोट छ । चोट निको हुँदै स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा छन् । पार्टी र अन्य साथीहरूसँग पनि बोलचाल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । चाँडोभन्दा चाँडो स्वास्थ्यमा सुधार भइरहेको अवस्थामा छ,’ उनले भने ।

चिकित्सकले केही दिन अझै केहि समय अस्पतालमा राख्नुपर्ने बताएको पनि उनले जानकारी गराए ।

गत २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीहरूमाथि कुटपिट भएको थियो ।

कुटपिटका क्रममा गम्भीर घाइते भएका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएको थियो । तर, आक्रोशित युवाहरूले त्यतिबेला अवरोध गरेका थिए ।

घटनापछि सेनाले स्थलमार्ग हुँदै बुढानीलकण्ठबाट उद्धार गरेको उनको उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्