बीमा कम्पनीहरूमा पर्यो २० अर्बको दाबी, यो रकम अझै बढ्न सक्ने

काठमाडौं,२ असोज । जेनजीले गरेको भदौ २३ र २४ गते प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीको कारण मंगलबारसम्म बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड रूपैयाँको दाबी परेको बीमा प्राधिकरणले उल्लेख गरेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै बीमा दाबी द ओरियण्टल इन्सुरेन्समा परेको छ । यस कम्पनीमा पाँच अर्ब १४ करोड रूपैयाँको दाबी परेको हो । त्यस्तै, ट्रष्ट माइक्रो इन्सुरेन्समा सबैभन्दा कम ४२ करोड रूपैयाँको दाबी परेको हो । बीमा कम्पनीहरूले हरेक दिन बीमा प्राधिकरणलाई आएको दाबीको विवरण पेश गरिरहेका छन् ।

प्राधिकरणले साप्ताहिक रूपमा बुधबार यस्तो जानकारी सार्वजनिक गर्ने भएको छ । यस बुधबार सार्वजनिक बिदा परेकोले प्राधिकरणले बिहीबार यस्तो तथ्यांक दिएको हो ।

भदौ २३ र २४ गते प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिदेखि विभिन्न व्यवसायिक भवन, होटल, घरमा आगजनी भएका छन्। यसले दाबी रकम थप बढ्न सक्ने अनुमान गरिएको छ ।

प्राधिकरणका जानकारी गराए अनुसार दाबी रकम अझै धेरै बढ्न सक्छ । आएका दाबी पनि फछ्र्यौट गर्न हामीले बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेका छौं, चाँडै हुन्छ ।

नेपालमा धेरै अघिदेखि सार्वजनिक सम्पत्तिहरूको बीमा गर्नुपर्छ भन्ने कुरा गरिएको भएपनि सरकारी उदासिनताको कारण यी सम्पत्तिहरूको बीमा हुन सकेको छैन । प्रदर्शनमा यस्ता सार्वजनिक सम्पत्तिहरूको क्षति नै सबैभन्दा धेरै भएको छ।

त्यसैले यस्तो क्षतिको दाबी भने बीमा कम्पनीहरूमा पर्दैन । प्रदर्शनमा भएको क्षतिलाई हुलदंगाबाट भएको क्षतिको रूपमा मानिने व्यवस्था बीमा सम्बन्धी नियमले गरेको छ ।

यसै अनुसार बीमा प्राधिकरणले धनमाल लगायतका सम्पत्ति बीमा, घर बीमा, र इन्जिनियरिङ बीमा गर्दा हुलदंगाबाट भएको क्षतिलाई पनि समेट्न पर्ने व्यवस्था गरेको छ ।

मोटर बीमामा भने दुई किसिमका बीमा हुन्छन्, तेस्रो पक्ष बीमा र सम्पूर्ण सवारी बीमा। तेस्रो पक्ष बीमा भनेको हुलदंगालाई नसमेट्ने र सवारी दुर्घटनाको क्रममा घाइते वा मुत्यु हुनेको परिवारले पाउने बीमा हो ।

सवारी साधनको सम्पूर्ण बीमा भनेको सवारी साधनमा क्षति पुग्दा हुने बीमा हो । यस्तो बीमामा हुलदंगाबाट भएको क्षतिलाई समेत समेटिएको हुन्छ ।

यसले गर्दा यो प्रदर्शनको क्रममा क्षति भएका व्यापारिक भवन, व्यक्तिगत घर, सवारी साधनको बीमा गरिएको छ भने बीमा दाबी रकम पाउने छन्। सार्वजनिक निकायहरूका सवारी बीमा भने भएको हुन सक्ने देखिन्छ ।

 

यस्ता भौतिक सम्पत्ति र सवारीहरूको बीमा निर्जीवन बीमा कम्पनीहरूले गर्छन्। कम्पनीहरूमा कुनै सम्पत्तिको पूर्ण वा आंशिक बीमा समेत गरिएको हुन सक्छ।

सामान्यतया अहिले बीमा कम्पनीहरूले हुलदंगा लगायतका जोखिमको भार आफुले मात्रै लिदैनन् ।

सुवेदीका अनुसार अहिले कम्पनीहरूले औसतमा बीमाको ३० देखि ३५ प्रतिशतसम्म मात्रै भार आफुले राखेर बाँकी सबै भार नेपाली पुनर्बीमा कम्पनीहरूलाई सारेका छन् ।

अहिले नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्स गरेर पुनर्बीमा कम्पनी छन् । यी पुनर्बीमा कम्पनीले कति भार आफुले लिएका हुन्छन भने केही अन्य केही विदेशी पुनर्बीमा कम्पनीहरूमा समेत सारेका हुन्छन् ।

अहिले यी कम्पनीले कति सारेका छन् भन्ने जानकारी भने बीमा प्राधिकरणसँग छैन ।

 

प्रतिक्रिया दिनुहोस्