असोज महिनाको लागि अझै घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

काठमाडौं,३१ भदौ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकको ब्याजदर भदौको तुलनामा असोजमा घटेको छ ।

भदौ महिनामा ५.५७ प्रतिशतविन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, असोजमा घटेर ५.४६ प्रतिशतविन्दुमा झरेको छ । समीक्षा अवधिमा बैंकहरुको यस्तो ब्याजदर ०.११ प्रतिशतविन्दु घटेको हो ।

२० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर घट्न पुगेको हो । भदौ महिनाको तुलनामा असोज महिनाका लागि प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएको हो । त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु घटाएको छ भने कुमारी बैंकले ०.२ प्रतिशतविन्दु घटाएको छ ।

असोज महिनाका लागि दुई बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। भदौको तुलनामा लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोजमा ब्याजदर बढाएका हुन्। यी दुई बैंकले क्रमश ०.२५ प्रतिशतविन्दु र ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका हुन्। बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक भने कुमारी बैंक रहेको छ । सो बैंकले अधिकतममा ५.०१ प्रतिशतका दरले ब्याज दिनेछ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशत रहेको छ । एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले असोज महिनामा सो दरमा ब्याज दिनेछन्।

बैंकको संस्थापक मुद्दति निक्षेपमा ७ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको हो । १३ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्