गाजामा इजरायली हवाई आक्रमणमा, दर्जनौंको मृत्यु, सयौं घाईते

काठमाडौं,२९ भदौ । इजरायली सेनाले शनिबार गाजा सिटीमा रहेको बहुतले आवासीय भवनमा हवाई आक्रमण गरेको छ । इजरायली रक्षा बलका अनुसार उक्त भवनमा हमासले आफ्नो कमान्ड र नियन्त्रण केन्द्र स्थापना गरी इजरायली सेनामाथि आक्रमण योजना बनाउने र कार्यान्वयन गर्ने गरेको थियो । तर इजरायली यो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण भने सार्वजनिक गरिएको छैन ।

हमासले इजरायली पक्षको भनाइलाई अस्वीकार गर्दै यसलाई नागरिक पूर्वाधारमाथिको आक्रमणलाई ‘झूटा बहाना’ मात्र भनेको छ ।

प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार टेल अल-हावा क्षेत्रमा अवस्थित ‘अल-नूर टावर’ नामक आवासीय भवन आक्रमणमा पूर्ण रूपमा ध्वस्त भएको छ । यो भवनमा युद्धका कारण विस्थापित भएका धेरै परिवारहरू आश्रय लिइरहेका थिए ।

एक साताभित्र गाजा सिटीभरि ५०० भन्दा बढी हमासका लक्ष्यहरूमा आक्रमण गरिएको आईडीएफले जनाएको छ । ती लक्ष्यहरूमा स्नाइपरहरूका अड्डा, सुरुङ मार्ग, हतियार भण्डारणस्थल र अन्य सैन्य पूर्वाधारहरू समावेश थिए ।

शनिबार गाजा सिटी र त्यस आसपासका क्षेत्रमा इजरायली हवाई आक्रमण तीव्र भएको वाफाले जनाएको छ । अल-रिमालको अल-थवरा सडकमा एक घरमाथि गरिएको आक्रमणमा केही सर्वसाधारण घाइते भएका छन् भने अल-यारमुक क्षेत्र नजिकका बासिन्दाहरूको घरमा ड्रोनबाट आक्रमण गरिएको छ ।

यस्तै, वाफाले मध्य गाजामा मानवीय सहायता लिन लाममा उभिएका नागरिकमाथि इजरायली बख्तरबन्द सवारीबाट गोली प्रहार गरिएको जनाएको छ । यसबारेमा भने आईडीएफले कुनै प्रतिक्रिया दिएको छैन ।

चिकित्सा स्रोतको हवाला दिँदै वाफाले पछिल्ला २४ घण्टामा भएका इजरायली आक्रमणमा कम्तिमा ४७ प्यालेस्टिनीको मृत्यु भएको र २०५ जना घाइते भएको उल्लेख गरेको छ ।

यो युद्ध २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले दक्षिण इजरायलमा आक्रमणयता इजरायली सैन्य कारबाहीमा गाजामा ६४,००० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्