याङ्शेर गुम्बाद्वारा पूजा

काठमाडौँ । सम्पूर्ण पृथ्वीका जीव तथा प्राणीको सुख–शान्ति र राष्ट्रिय कल्याणको कामना गर्दै बुद्ध पूजा शुरु गरिएको छ।
याङ्शेर गुम्बा, डोल्पाको आयोजनामा यही भदौ २१ देखि २३ गतेसम्म बौद्धस्थित शेर्पा सेवा केन्द्रमा जारी पूजाआजामा धर्मावलम्बीको उल्लेख्य सहभागिता छ ।

आन्तरिक र बाह्य विघ्न–बाधा तथा नकारात्मक शक्तिहरू नष्ट गर्दै दशा–ग्रह शान्ति, समृद्धि प्राप्तिका लागि कामना गरिन्छ ।

विशेषगरी अमिताभ बुद्धको पूजा गरेपछि अन्तिममा भगवान बज्रकिलायको मन्त्रपाठसहित पूजा गरिने जनाइएको छ।

याङ्शेर गुम्बा,डोल्पोका प्रमुख लामा, परम श्रद्धेय रानाग छोक्तुल रिनपोछे (डोल्पो बुद्ध) को अगुवाइमा भएको पूजा सम्पन्न भएपछि अनुयायीलाई अभिषेकको प्रवचन दिने कार्यक्रम छ।

बौद्ध साहित्यमा शून्यताको दार्शनिक विषय समेटिएको छ । कुनै पनि व्यक्ति तथा वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन र अरु वस्तुमा निर्भर हुने गर्दछ भन्ने सन्देश यसमा दिइएको छ । व्यक्ति व्यक्तिकाबिच हुने मनमुटाव, लोभ, क्रोध, मोहका कारण फैलिएका हिंसा तथा अशान्तिलाई न्यूनीकरण गरी शान्ति कायम गर्न सकिने उपाय बौद्ध शिक्षामा उल्लेख गरिएको छ ।

यस किसिमको पूजाले सकारात्मक ऊर्जा उत्पन्न गरी अनुयायीलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने हुँदा शान्तिपूर्ण वातावरण निर्माण भई सबैको कल्याण हुने बताइएको छ

बुद्ध साहित्य तथा दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्दै पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबिच बढ्दै गइरहेको द्वन्द्व अन्त्यका लागि बुद्धका शिक्षा तथा उपदेशलाई फैलाउनुपर्ने सन्देश छ ।‌

बुद्धले प्रतिपादन गर्नुभएको दर्शन सबै मानव समुदायका लागि प्रेरणादायी रहेको बताउँदै समग्र प्राणीको कल्याणका लागि तथा मानवका लागि दुःखबाट मुक्ति गराउने उपाय रहेको बौद्ध दर्शन अनुकरणीय छ ।

विभिन्न सम्प्रदायका बौद्ध अनुयायीले विभिन्न कार्यक्रम गरी बौद्ध दर्शनमा आधारित गतिविधि तथा भावनात्मक विश्वासलाई अभ्यास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्