आगामी महीना दक्षिण कोरिया जाने तयारीमा छन् ट्रम्प

काठमाडौं, २२ भदौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी महीना दक्षिण कोरियाको भ्रमणमा जाने देखिएको छ । दक्षिण कोरियामा हुने एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा भाग लिन ट्रम्प त्यसतर्फ जान सक्ने भन्दै सीएनएनले समाचार छापेको छ ।

यस भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्न सक्ने दाबी पनि मिडिया रिपोर्टमा आइरहेका छन् । तर ह्वाइट हाउसले अहिलेसम्म यसको आधिकारिक घोषणा गरेको छैन ।

सीएनएनले शनिबार ट्रम्प प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । ट्रम्प र उनका शीर्ष सल्लाहकारहरूले एसिया–प्रशान्त आर्थिक सहयोगका व्यापार मन्त्रीहरूको बैठकको लागि तयारी गरिरहेको समाचारमा भनिएको छ ।

अक्टोबरको अन्त्य र नोभेम्बरको सुरुमा ग्योङजुमा हुने एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनलाई ट्रम्प र सीबीचको बैठकको लागि महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।

शिखर सम्मेलनको क्रममा ट्रम्प र सिबीचको द्विपक्षीय बैठकको बारेमा गम्भीर छलफल भइरहेको छ, तर अहिलेसम्म कुनै ठोस योजना नबनाइएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार, गत महिना सी र ट्रम्पबीच फोन वार्ता भएको थियो, जसमा सिले ट्रम्पलाई आफ्नी श्रीमतीसहित चीन भ्रमण गर्न निम्तो दिएका थिए । ट्रम्पले पनि यसमा सहमति जनाएका थिए ।

तर भ्रमणको कुनै मिति तय गरिएको थिएन । ट्रम्पले दक्षिण कोरियामा उत्तर कोरियाली शासक किम जोङ उनसँग पनि भेट्न सक्ने पनि खबर आएको छ । तर, किम एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा भाग लिन्छन् कि लिँदैनन् भन्ने कुरा अझै निश्चित भने भएको छैन ।

गत हप्ता ह्वाइट हाउसको भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले ट्रम्पलाई एपेक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरेका थिए । सी र किम दुवैसँगको सम्बन्ध तनावपूर्ण रहेको समयमा ट्रम्प दक्षिण कोरिया जाने चर्चा चलिरहेको छ ।

यस महिनाको सुरुमा तियानजिनमा भएको सांघाई सहयोग संगठन शिखर सम्मेलनलाई लिएर वाशिंगटनमा हंगामा भएको थियो । यहाँ सीले उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए ।

यी बैठकहरूको आलोचना गर्दै ट्रम्पले सीमाथि अमेरिकाविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्